Friday, June 22, 2012

धीरेन्द्र प्रेमर्षि - मूलै खामो (गजल)

मूलै खामो मक्केको यो काठेघर ढाल्नुपर्यो;
इटैइटको नयाँ घर बनाउन थाल्नुपर्यो ।

सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा तर,
एउटा सिङ्गो छानो राखी दरो जग हाल्नुपर्यो ।

झूल टाँगी हुन्न अब लामखुट्टे धपाउन ;
कसिङ्गर थुपारेर झट्टै घुर बाल्नुपर्यो ।

हामीलाई पोल्ने सिस्नो घारी हाम्रै यो चिहानमाथि ;
कसले किन रोप्यो छोडौँ उखेलेर फाल्नुपर्यो ।

काँधमाथि देश उठाई सगरमाथा चढ्नलाई ;
होस्टेमाथि हैँसे गर्दै सबले पाइला चाल्नुपर्यो ।

-
धीरेन्द्र प्रेमर्षि
'समयलाई सलाम'
नेपाल साप्ताहिक, २०६३

(२०६३ मा प्रकाशित यो गजल, आज झन बढि सान्दर्भिक हो कि झैँ लाग्यो । गजलकारको भावलाई विशिष्ट सम्मान । )