Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts

Monday, July 28, 2014

किसानको रहर - लक्ष्मीप्रसाद देवकोटा

सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।

छुपु र छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला ।।

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ।

गालामा साना पसिना दाना मोतीझै खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।

सुसेली हाली बयली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।।

सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।।

- लक्ष्मीप्रसाद देवकोटा ।

Friday, June 22, 2012

धीरेन्द्र प्रेमर्षि - मूलै खामो (गजल)

मूलै खामो मक्केको यो काठेघर ढाल्नुपर्यो;
इटैइटको नयाँ घर बनाउन थाल्नुपर्यो ।

सबै दाजुभाइका लागि बेग्लाबेग्लै कोठा तर,
एउटा सिङ्गो छानो राखी दरो जग हाल्नुपर्यो ।

झूल टाँगी हुन्न अब लामखुट्टे धपाउन ;
कसिङ्गर थुपारेर झट्टै घुर बाल्नुपर्यो ।

हामीलाई पोल्ने सिस्नो घारी हाम्रै यो चिहानमाथि ;
कसले किन रोप्यो छोडौँ उखेलेर फाल्नुपर्यो ।

काँधमाथि देश उठाई सगरमाथा चढ्नलाई ;
होस्टेमाथि हैँसे गर्दै सबले पाइला चाल्नुपर्यो ।

-
धीरेन्द्र प्रेमर्षि
'समयलाई सलाम'
नेपाल साप्ताहिक, २०६३

(२०६३ मा प्रकाशित यो गजल, आज झन बढि सान्दर्भिक हो कि झैँ लाग्यो । गजलकारको भावलाई विशिष्ट सम्मान । )